पारिस्थितिक प्रणालीको पुनरुत्थान (Ecosystem Restoration)

मानविय गतिविधि वा प्राकृतिक प्रकोप का कारणले केहि पारिस्थितिक प्रणालीहरुको गुणमा ह्रास आएको छ, केहि पारिस्थितिक प्रणालीहरु लोपन्मुख अवस्थामा पुगेका छन् भने बाँकि केहि पारिस्थितिक प्रणालीहरु विलुप्त भइसकेका छन् । यसरी प्राकृतिक स्वरुप भन्दा फरक अवस्थामा पुगेका पारिस्थितिक प्रणालीहरुलाई पुन: पुरानै स्वस्थ अवस्थामा फर्काउन मद्धत गर्नु र स्वस्थ पारिस्थितिक प्रणालीको संरक्षण  गर्नु नै पारिस्थितिक प्रणाली पुनरुत्थान(इकोसिस्टम रेस्टोरेसन) हो । हामी सबैलाई अवगत नै छ कि बढ्दो जनसंख्या,अव्यवस्थित शहरीकरण,वनविनास,भू,जल तथा वायु प्रदुषण ,जलवायु परिवर्तन लगायतका कारणले गर्दा वातावरणका अवयवहरुको स्वचालित प्रणाली क्षतिग्रस्त अवस्थामा छन् । अझै यो अवस्था दिनानुदिन बढ्दो क्रममा छ ।तसर्थ यो क्षतिग्रस्त अवस्थालाई नियन्त्रण गरी वातावरणका अवयवहरुको पूर्ववत स्वच्छ अन्तरसम्बन्ध पुनर्स्थापित गर्ने कडीका रुपमा इकोसिस्टम रेस्टोरेसनलाई लिन सकिन्छ ।

पारिस्थितिक प्रणालीका अवयवहरु  उर्जा प्रवाह र खनिज चक्रका कारण एक अर्का संग अन्तरसम्बन्धित रहन्छन । मान्छेले ज्यादा बिकसित तथा धनी हुने लालचमा परिस्थितिक प्रणालीमा दख्खल पुर्याउने काम भैरहेको छ यस   प्रकृतिमाथि हैकम जमाइरहेको छ तर जति हाम्रो प्रकृतिमाथि अधिकार छ त्यति नै अधिकार सम्पूर्ण जिबजन्तुको पनि छ । यो कुरा बुझपचाएर आफैलाई सर्वश्रेष्ठ मान्दै प्राकृतिक सम्पदाको चरम दोहन गर्नु आफ्नै खुट्टामा आफै बन्चरो हान्नु जस्तै हो, भविष्यका पुस्तामथि गद्धारी गर्नु हो । यी सबै कुरालाई मध्यनजर गर्दै संयुक्त राष्ट्र संघले अबको दशकलाई (सन् २०२१-२०३०) इकोसिस्टम रेस्टोरेसन दशकका रुपमा मनाउने घोषणा गरेको छ । सन् २०३० दिगो बिकाशको लक्ष्य हासिल गर्ने घोषित समय सीमा पनि हो |

इकोसिस्टम रेस्टोरेसन दिगो बिकास

विभिन्न अध्ययनहरुले सन् २०३० सम्ममा पानीको माग ४०%,काठ दाउरा र फाईबरको ४०% तथा खाध्य पदार्थको माग ५०% ले बढ्ने देखाएको छ । यी सबै मागहरुको पूर्ति गर्ने एउटै बाटो हामी संग छ  त्यो हो प्राकृतिक सम्पदाको बिबेकपूर्ण तथा समुचित प्रयोग | बैज्ञानिकहरुले विनासकारी जलबायु परिवर्तन नियन्त्रण गर्न सकिने अन्तिम अस्त्र पनि यसलाई मानेका छन् ।

इकोसिस्टम रेस्टोरेसन दिगो बिकासको लक्ष्य हासिल गर्ने मूल आधार हो । दिगो बिकास लक्ष्यमा समेटिएका १७ वटै बिश्वब्यापी लक्ष्यको उद्धेश्य हासिल गर्न इकोसिस्टम रेस्टोरेसनको मह्त्वपूर्ण भूमिका रहन्छ । बिशेशत : लक्ष्यहरु ११,१३,१४,र १५ ले बिश्वका आम मानिसको हित संरक्षण गर्ने सम्बन्धमा चर्चा गर्छन । दिगो शहर र समुदायहरु,वातावरण परिवर्तनदेखि महासागरहरु,सामुन्द्रिक स्रोतहरु र बन ,मरुभूमिकरण ,जमिनको क्षयीकरण र जैविक विविधतालाई समेटेका यी लक्ष्यहरुले आर्थिक बृध्दि हासिल गर्दा र यसका लाभहरुको बाँडफाड गर्दा प्राकृतिक सम्पदालाई संरक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् त्यसैगरि भौतिक बिकासका लक्ष्यहरु हासिल गर्दा वातावरणीय पक्षसंग सम्झौता गर्न नसकिने कुरा प्रस्ट पारेका छन् । एकआपसमा अन्तरसम्बन्धित यी लक्ष्यहरुले इकोसिस्टम रेस्टोरेसनको आवश्यकतालाई घनीभूतरुपमा आत्मसात् गरेका छन् ।

इकोसिस्टम रेस्टोरेसन महामारी 

पारिस्थितिक स्वास्थ्यले जनस्वास्थ्य लगायत सम्पूर्ण जिवजन्तुको स्वास्थ्यमा प्रत्यक्ष्य वा परोक्ष्य रुपमा प्रभाब पारिरहेको हुन्छ । वास्तवमा जनस्वास्थ्य पारिस्थितिक प्रणालीकै एउटा अंग हो । तसर्थ इकोसिस्टम रेस्टोरेसन र जनस्वास्थ्य एकआपसमा अन्तरसम्बन्धित छन् । तर यी दुइको अन्तरसम्बन्धको बुझाईको स्तर जनमानसमा अत्यन्तै नाजुक अवस्थामा छ । अन्तरसम्बन्ध केलाउन सक्ने संयन्त्रको कमीले गर्दा परिस्थितिक प्रणाली र जनस्वास्थ्यबिचको अन्तरसंबन्धको सिद्धान्तले गति लिन सकेको छैन । बिश्वब्यापी कोभिड-१९ को महामारीले यो मुद्धालाई टड्कारो रुपमा उठान गरेको देखिन्छ ।

हालैका दशकहरुमा अनेकौं खालका जनावरबाट सर्ने (जूनोटिक) रोगहरु मानव समुदायमा महामारीको रुपमा खडा भएका छन् । जसमा  इबोला, बर्ड फ्लु, स्वाइन फ्लु, मर्स फ्लु, सार्स फ्लु, जिका साथै पछिल्लो समय महाव्याधिको रुप लिएको कोभिड १९ पर्छन । यी र यस्ता रोगहरु निकट भविष्यमा पनि दोहोरिने सम्भावनालाई नकार्न सकिदैन । अहिले देखियका ७०% भन्दा बढी आयातित रोगहरु जनावरबाट मानवमा प्रबेश गरेको पाइएको छ । संयुक्त राष्टसंघीय वातावरण कार्यक्रमको फ्रन्टियर्स प्रतिवेदन २०१६ अनुसार जनसङ्ख्या वृद्धि, पारिस्थितिकीय असन्तुलन र जैविक विविधतामा आएको ह्रासका कारण विभिन्न सङ्क्रमणहरू जनावरबाट मानिसमा सर्दछन् । प्रतिवेदन अनुसार मानिसमा हरेक ४ महिनामा एक संक्रामक रोग देखिन्छ । वातावरणीय विनाश, असन्तुलित भू उपयोग, वन विनाश, वन्यजन्तुको वासस्थानमा ह्रास आदिको कारण स्वचालित चक्र असन्तुलित भइ संक्रामक  किटाणु फैलिन सक्ने अनुकुलित वातावरण सिर्जना भएको छ। विभिन्न प्रजातिहरुको रोग फैलावट रोक्न पारिस्थितिक प्रणालीको अन्तरनिहित लचकता र अनुकुलित वातावरणले सहयोग गरिरहेको हुन्छ । जति बढी जैविक विविधता भयो, उति नै जिवाणुहरुलाई रोग फैलाउन गाह्रो हुन्छ । तसर्थ इकोसिस्टम रेस्टोरेसनले महामारीका समस्या दीर्घकालिनरुपमा समाधान गर्न पनि महत्वपुर्ण भूमिका निर्वाह गर्दछ ।

इकोसिस्टम रेस्टोरेसन:चुनौती समाधान

इकोसिस्टम रेस्टोरेसन आजको भोलि देखिने परिणाम होइन । दशकौको अटुट  प्रयासपछी मात्रै इकोसिस्टम रेस्टोरेसनको नतिजा देख्न सकिन्छ । इकोसिस्टम रेस्टोरेसन परिस्थितिपरक सिद्धान्तमा आधारित हुन्छ । तसर्थ अवस्था अनुसारको उपाय अवलम्बन गर्नुपर्ने हुन्छ । इकोसिस्टम रेस्टोरेसनले जटिल समस्यहरुलाई उठान गरेको हुन्छ भने समाधान पनि जटिल नै हुने गर्छ । परिवर्तनशील प्राकृतिक प्रणाली, प्राकृतिक प्रणालीप्रतिको गलत बुझाइ तथा बुझाइको स्तर, बिगतमा भएका सफल तथा असफल प्रयासहरुको सुचनाको कमि, दीर्घकालीन परियोजनाहरू संन्चालन गर्न पर्याप्त स्रोतको अभाव, पुनारुत्थान शिक्षाको कमि तथा इकोसिस्टम रेस्टोरेसनप्रति नै मानिसको नकारात्मक बुझाई,पुनरुत्थान सम्बन्धि पर्याप्त नियम कानुनको अभाव लगायतका चुनौतिहरु हामीमाझ विद्यामान छन् ।

सृष्टिको सिर्जना निरन्तर्ताका लागि पर्यावरणीय सन्तुलन अपरिहार्य कुरा हो । पर्यावरण आफै बिग्रँदैन साथै बिगार्नेले नै सपार्नु प्राकृतिक न्यायको सामान्य सिद्धान्त हो । हाम्रो जीवनशैली  जटिलता समाधान गर्ने भन्दा पनि थप गर्ने खालको छ । इकोसिस्टम रेस्टोरेसन गर्नका लागि वातावरणमैत्री जीवनशैली जिउनुको विकल्प छैन । गहिरो अध्ययन र अनुसन्धानपश्चात मात्रै सम्बन्धित ठाउँको वास्तविक परिस्थिति निर्क्योल गर्न सकिन्छ । तदनुरूप उचित परियोजना तथा कार्यक्रमहरु तर्जुमा गर्नुपर्दछ । हचुवाको भरमा पुनरुत्थानका  परियोजनाहरु संचालन गर्दा पारिस्थितिक प्रणालीमा झन बढी नकारात्मक असर पर्न सक्छ भने इकोसिस्टम रेस्टोरेसनप्रतिको मानिसको बिश्वास पनि घटेर जान्छ । पुनरुत्थान परियोजनाहरु संचालन गर्न आवस्यक पर्ने श्रोत र साधन,दक्ष जनशक्ति लगायतका प्रबन्ध मिलाउन सरोकारवाला निकायहरुलाई दबाब दिन जरुरी छ । सबैभन्दा महत्वपूर्ण कुरा समुदायको उपस्थिति हो । जबसम्म समुदायले अपनत्व महसुस गर्दैन, त्यसको आवश्यकता बुझ्दैन तबसम्म पुनरुत्थान परियोजना दिगो हुन सक्दैन । त्यसैले पारिस्थितिक प्रणाली पुनरुत्थान शिक्षामा पनि जोड दिन जरुरी छ ।

नेपालमा इकोसिस्टम रेस्टोरेसनको आवश्यकता 

विशिष्ट भौगोलिक अवस्थिति, मौसम तथा जलवायुको विविधता तथा यिनीहरूको सम्मिश्रणबाट विशिष्ट पारिस्थितिक प्रणालीको उपस्थितिले गर्दा विश्वको कुल भूभागको ०.०१ प्रतिशत क्षेत्रफल मात्र ओगटे पनि जैविक विविधताका दृष्टिले नेपाल निकै धनी देशमध्ये पर्छ।विश्वमा जुन ढंगबाट पारिस्थितिक प्रणालीको अवस्था चिनताजनक बनेको छ नेपाल पनि सोहि अवस्थाबाट अछुतो रहन सकेको छैन । कमजोर तथा भिरालो भूबनोट, अल्पवृष्टि,अनावृष्टि र अतिवृष्टि जस्ता प्राकृतिक समस्याहरुले विपदको उच्च जोखिम निम्त्याएका छन । अव्यवस्थित शहरीकरण तथा औद्योगिकरण,वनविनाश, अतिचरण, बन्यजन्तु तथा प्राकृतिक सम्पदाको अबैध चोरी निकासी,फितलो वातावरणीय मुल्यांकन लगायतका समस्याहरुले परिस्थितिक प्रणालीहरुको सन्तुलनमा गहिरो चोट पुगेको छ भने कतिपय लोप हुने अवस्थामा पुगेका छन् । जलबायु परिवर्तन र अन्तरदेशीय वायु प्रदूषणको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाबले थप जटिलता निम्त्याएका छन् ।

नेपाल जस्तो विकासोन्मुख मुलुकमा संरक्षण गर्ने सन्दर्भमा प्रतिशोधको भावना ब्याप्त छ । विकसित राष्ट्रहरुले आफ्ना श्रोत र साधन विकासका लागि खर्चिसके तर हामीलाई जलबायु परिवर्तन लगायतका मुद्धा उठाएर अलमलाइदै छ । वातावरणीय सेवा भुक्तानीका नाममा लोभ्याईदै छ । नेपालमा वातावरणविद हरुलाई विकासविरोधिको संज्ञा पनि दिइन्छ ।

आम मानिसको बुझाई रुख रोपेपछि वातावरण सन्तुलन भईहाल्छ भन्ने छ । रुख रोप्नु प्रकृतिको संरक्षण गर्ने एउटा उपाय हो तर रुख रोपेर मात्रै अहिले देखापरेका गम्भीर समस्याहरु निराकरण गर्न सकिदैन । गम्भीर समस्याहरु निराकरण गर्न बृहत कार्ययोजना तर्जुमा गर्न जरुरी छ,संरक्षणका लागि भएका प्रयासहरुलाई एकत्रित गर्दै वैदेशिक  निकायसंग समन्वय गरेर अगाडी बढ्नु पर्ने हुन्छ । यी सबै कुराहरुलाई सम्बोधन गर्न सक्ने एकमात्र विधि  इकोसिस्टम रेस्टोरेसन हो ।

अन्त्यमा 

पुजीबादी उन्मत्ततामा जकडिएको बिश्व अर्थतन्त्रमाथि पुनर्विचार गर्ने बेला आएको छ । बिकासलाई पुन:परिभाषित गर्ने बेला भएको छ | हामीलाई अमुल्य प्राकृतिक सम्पदाको महत्व बुझ्न सक्ने अर्थतन्त्रको खाचो छ | कर्बोनेटेड गरि बजारीकरण गरिएका पेय पदार्थ भन्दा प्राकृतिक मूलबाट बगेको पानीको मूल्य कयौ गुना महँगो छ भनेर बुज्ने समाजको खाचो छ । पारिस्थितिक प्रणालीको  पुनरुत्थान गर्ने सन्दर्भमा यतातिर पनि ध्यान दिने कि???

प्रकाश तिवारी , गोल्डेन गेट इन्टरनेशनल कलेज

(द्रष्टव्य : यस ब्लगमा व्यक्त गरिएका विचार लेखकको निजि विचार हो यसमा वातावरण अध्धयन तथा संरक्षण केन्द्रले अपनत्व ग्रहण गरेको छैन। यो लेख वातावरण अध्ययन तथा संरक्षण केन्द्र  द्वारा आयोजित मासिक ब्लग प्रतियोगितामा मार्च महिनाका लागि दिइएको विषयवस्तुमा आधारितभई छानिएको बिजयी ब्लग हो। )